News Griha :: न्यूजगृह
ट्याङ्करले अटोलाई ठक्कर दिँदा दुई भारतीयको मृत्यु

रौतहट— रौतहटको चन्द्रपुर–५ स्थित पूर्वपश्चिम राजमार्गको चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको ट्याङ्करले पूर्वबाट आउँदै गरेको अटोलाई सोमबार राती ठक्कर दिँदा त्यसमा सवार दुई भारतीयको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाईते दुवैको वीरगञ्जमा उपचारको क्रममा राति मृत्यु भएको हो । 

बागमतीको नुनथरबाट चन्द्रनिगाहपुर आउँदै गरेको गरेको ज १ ह ४४८५ नम्बरको अटोलाई अमलेखगञ्जबाट सर्लाही जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्याङ्करले ठक्कर दिएको थियो ।

अटोमा सवार भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षिय पिंकु सिंह र सोही गाउँ बस्ने २२ वर्षिय अवधेश झाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

मृतक दुवै अंग्रेजी नयाँ वर्ष मनाउन चन्द्रपुर–१ स्थित वाग्मतीको नुनथर आएका थिए । साँझ उनीहरु टेम्पो चढेर चन्द्रनिगाहपुरतर्फ आउँदै गर्दा ट्याङ्करले ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार टेम्पोमा ६ जना सवार थिए ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ११:२७
Weather Update