
काठमाडौं— ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइएको छ ।
गृह जिल्लामा पठाउन उनीहरूको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।
दुवै जनाको पाटन अस्पतालमा पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टमपछि शव विमानस्थलमा लगेर नेपाली सेनालाई जिम्मा लगाइएको एसपी कार्कीले बताए । नेपाली सेनको स्काई ट्रक मार्फत दुवै जनाको शव सुर्खेत लैजाने तयारी गरिएको छ ।
सुर्खेतबाट भने हेलिकप्टरमार्फत सुजनको शव दैलेख र वीरेन्द्रको शव अछाम लगिने छ । पुस १३ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन स्थलमा गम्भीर घाइते भएका दुवैले अस्पतालमा ज्यान गुमाएका हुन् ।
सुजन रावतको छातीमा निलडाम भेटिएको छ । सुजनलाई गोली नलागेको तर, भाग दौडमा मृत्यु भएको हुनसक्ने सुरक्षा अधिकारीहरू बताउँछन् । अछामका वीरेन्द्र शाहको भने गोली लागेर मृत्यु भएको हो । उनको पेटमा लागेको छ ।













