News Griha :: न्यूजगृह
लोकतन्त्रको सवालमा शीर्ष नेताहरूको एउटै स्वर

काठमाडौं— नेपाली कांग्रेसले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई बोलाएर सोमबार मेलमिलाप दिवस मनायो ।
कांग्रेसको सभामा उभिएर नेताहरूले बिम्ब र प्रतीक उपयोग गरेर परस्परमा छेडछाड गर्न कुनै कसर छाडेनन् । तर उनीहरूको मतैक्य थियो– लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो । 

राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा राजावादी समूह र राष्ट्रिय प्रजातन्त्र पार्टीले देशव्यापी आन्दोलन को घोषणा गरेपछि लोकतन्त्रवादी दलहरूले पनि लोकतन्त्रको प्रतिरक्षामा एकै मञ्चबाट आफूहरूबीच मेलमिलाप रहेको सन्देश दिएका हुन् । 

जनतामा देखिएको निराशा समाएर लोकतन्त्रको विकल्प खोज्ने प्रयास कुनै किसिमले पनि सफल हुन नसक्ने नेताहरूको भनाइ थियो । जनआन्दोलनको बलमा विस्थापित पुरानो शक्तिको पुनरागमन असम्भव भएको तर्क गर्दै नेताहरूले वर्तमान प्रणालीमा केही कमीकमजोरी रहे पनि पद्धतिप्रति जनताको बलियो विश्वास र भरोसा रहेको दाबी गरे ।

senior-leader-melmilap-diwas-1704168148.jpg

आफ्ना संस्थापक नेता बीपी कोइरालाले झण्डै आधा शताब्दी अघि सुरु गरेको मेलमिलाप दिवसलाई निरन्तरता दिँदै आएको कांग्रेसले यसपटक मुख्य दलका शीर्ष नेतालाई आमन्त्रण गरेर राष्ट्रिय राजनीतिमा असहमतिकाबीच मेलमिलापको सन्देश दिने प्रयास गरेको देखियो । 

कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीसहितका नेताहरूले सम्बोधन गरेका थिए । 

pushpakamal-dahal-1704168148.jpg
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले बीपी कोइरालालाई राजनीति र साहित्यसँगै अरु धेरै विधामा पनि बलियो दख्खल भएका नेता भनेर चर्चा गरे । बीपीलाई मन परेर पनि र मन नपरेर पनि बीपी स्कुलिङबाट वर्तमान समयका सबै नेताहरू प्रभावित रहेको उनले बताए ।  

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय राजनीतिमा एकताको सन्देश दिनेगरी नेपाली कांग्रेसले नै मेलमिलाप दिवसमा सबैलाई सहभागी गराएर उपयुक्त सन्देश दिएको भनेर प्रशंसा गरे । नयाँ युगको सर्वस्वीकार्य पद्धति लोकतन्त्रको विकल्प सम्भव नै नभएको र यसलाई बलियो बनाएर यो पद्धतिमार्फत जनताको सेवा गर्न नेपाल सक्रिय रहेको पनि उनले चर्चा गरे ।

विपक्षी दल एमाले अध्यक्ष ओलीले मौलिक स्वभाव अनुसार नै कटाक्ष गर्दै मेलमिलाप दिवसको आयोजनाले जनतामा विश्वासको सन्देश प्रवाह गरेको बताए । 

एमालेका अध्यक्ष ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘सेरेमोनियल राजा’ को संज्ञा दिए । उनले राजावादीहरूलाई व्यंग्य मात्रै गरेनन् राजतन्त्रको औचित्य नै सकिइसकेको पनि बताए । ओलीले भने, ‘कस्तो राजा ल्याउन खोजेको ? यी राजनीतिक दलहरूले गरेनन् भनेर तानाशाह राजा बनाउन खोजेको भनेर सोध्दा होइन भन्छन् । संवैधानिक सेरेमोनियल राजा बनाउन खोजेको रे । सेरेमोनियल त रामचन्द्रजी हुँदै हुनुहुन्छ त ।’  

kp-sharma-oli-1704168146.jpg
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

कुनै पनि तानाशाहीतन्त्र ल्याउनै नदिने भन्दै लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको पक्षमा सबै एक भएर उभिने ओलीको उद्घोष थियो । आफूलाई महामन्त्री विश्वप्रकाश शर्माले मेलमिलाप दिवसमा आउनासाथ भाटे कारबाही गरेको भन्दै ओलीले व्यंग्य गरे । उनको प्रष्ट सन्देश थियो – अहिलेको व्यवस्थाको विकल्प खोज्न सकिँदैन, सुधार गर्नुपर्ने ठाउँ प्रशस्तै छन् । 

एकीकृत समाजवादी अध्यक्ष नेपालले कांग्रेसको कार्यक्रमप्रति केही सतर्क भए पनि राष्ट्रिय मेलमिलाप अपरिहार्य रहेको बताए । उनले व्यवस्थालाई जनताले अपनत्व लिन भ्रष्टाचार निर्मूल हुनुपर्ने तर्क गरे । उनले भने, ‘भ्रष्टाचार रहेसम्म कुनै पनि व्यवस्थाले जनतालाई विकास र समृद्धि दिन सक्दैन । त्यसकारण भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सक्ने हो भने हामीले अहिले ल्याएको व्यवस्था नै दुनियाँकै सबैभन्दा उत्तम हो ।’

madhav-kumar-nepal-(1)-1704168147.jpg
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

जनमोर्चा अध्यक्ष केसीले गणतन्त्रलाई उत्तम व्यवस्था भनिरहँदा नेताहरूको आचरणमा सुधार आवश्यक देखिएको औंल्याए । ‘हामी लडेर लोकतन्त्र, गणतन्त्र त ल्यायौं तर हामीबाट नै यसलाई खतरा छ हामी सजग हुनुपर्छ । अहिले पनि जनतामा व्यापक असन्तुष्टि छ । को प्रतिभन्दा लोकतन्त्र, गणतन्त्र ल्याउनेप्रति,’ उनले भने, ‘जनताले चाहेजतिको सुशासन दिन सकिन्थ्यो, भ्रष्टाचारलाई न्यूनीकरण गर्न सकिन्थ्यो, त्यसमा हामी इमानदारीपूर्वक नेपाली जनता अगाडि स्वीकार गर्नुपर्छ हामी त्यो काम गर्न सकिरहेका छैनौँ ।’  

chitra-bahadur-kc-1704168146.jpg
जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी

नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान व्यवस्थाका त्रुटिहरू सच्याएर अघि बढ्नुको विकल्प नभएको बताए । गणतान्त्रिक व्यवस्था कार्यान्वयनमा भएका कमजोरी नसच्याउँदा राजतन्त्र फर्किन्छ भन्ने आवाज उठ्ने गरेको संकेत उनले गरे । उनले भने, ‘यसको मतलब पछाडि जानुपर्छ भन्ने होइन । राजतन्त्र भनेको त म पनि भन्छु राँके भूत  हो । त्यसबाट डराउनु पर्ने कुरा छैन ।’

baburam-bhattarai-1704168147.jpg
नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई

कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको विकल्प खोज्न नसकिने प्रष्ट पारे । यस विषयमा सबै पार्टीको बीचमा एउटै सहमति र धारणा रहेको पनि उनले बताए ।  उनले भने, ‘लोकतन्त्रको प्रतिस्पर्धामा अझै राम्रो लोकतन्त्र बनाउनु बाहेक विकल्प छैन ।’ नेपालमा दलहरू बीचमा प्रतिस्पर्धा भए पनि भाइचाराको वातावरण राम्रो पक्ष भएको पनि उनले बताए । 

sher-bahadur-deuba-1704168149.jpg
कांग्रेस सभापति शेरबहादुर देउवा

फरक दल, सरकारमा सहभागी र प्रतिपक्षका नेताहरूले एउटै मञ्चमा आएर लोकतन्त्रको विकल्प अर्को व्यवस्था नभएको बताइरहँदा जनतामा असन्तुष्टि रहेको भान भइरहेको पनि बताए । सुधारका लागि मिलेर अघि बढ्ने प्रतिबद्धता उनीहरूको भनाइमा थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ०९:५४
Weather Update