News Griha :: न्यूजगृह
एकै बगानबाट १० लाखको सुन्तला बिक्री

इलाम— इलाम नगरपालिका–५ बरबोटेका सामवेद चापागाईँले २० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । अन्यत्र उत्पादन घटेका बेला चापागाईँको बगानमा भने सुन्तला लटरम्म फलेको छ ।

‘मैले २०६० सालदेखि सुन्तला खेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी १० लाखमा बेच्न सफल भएको छु,’ चापागाईँले भने ।

सुन्तला लगाएको पहिलो वर्ष तीन हजार रुपैयाँमा बिक्री भएको सम्झँदै उनले यस वर्ष आफ्नो बगानको सुन्तला पाक्न नपाउँदै १० लाखमा बिक्री भएको बताए । जिल्लाका विभिन्न ठाउँमा सुन्तला मासिदै गएकाले चापागाईँको जस्तो बगान भेट्न निकै मुस्किल पर्छ ।

गत वर्ष उनले ४ लाखको सुन्तला बिक्री गरेका थिए । धेरैतिर उत्पादन कम भएपछि व्यापारीले पोहोरको तुलनामा दोब्बरभन्दा बढी मूल्य दिएका उनले बताए । 

कृषि ज्ञान केन्द्र इलामले पनि चापागाईँको बगान नै इलाममा अहिले सबैभन्दा बढी सुन्तला उत्पादन हुने बगान रहेको हुनसक्ने जनाएको छ । केन्द्र प्रमुख टोनी बर्देवाले केन्द्रले किसानलाई सुन्तला खेतीमा अनुदान र प्राविधिक सहयोग गरिरहेको बताए ।  

गत वर्ष दुई हजार सात सय ४४ मेट्रिक टन सुन्तला उत्पादन भएको इलाममा यस वर्ष दुई हजार सात सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको बर्देवाले बताए । कार्यालयका अनुसार यो वर्ष इलाममा विगतको तुलनामा सुन्तला खेती गर्ने क्षेत्रफलसमेत घटेको छ । आर्थिक वर्ष २०८०/८१ मा दुई सय ७८ दशमलव पाँच हेक्टरमा मात्र सुन्तला खेती भएको छ । 

आव २०७९/८० मा दुई सय ८० हेक्टरमा सुन्तला खेती गरिएको थियो । रासस

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ०९:२१
Weather Update