News Griha :: न्यूजगृह
जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुपर्छः नेता सिंह

तनहुँ— नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताएका छन् ।

बन्दीपुर गाउँपालिका–४ मा बुधबार आयोजित कार्यक्रममा उनले जनताले आफ्ना हरेक सुख, दुःखमा सँगै हुने उम्मेदवार खोजेको बताएका हुन् ।

‘भाषण गर्ने तर गाउँ ठाउँ नबुझेको व्यक्ति अहिले जनताले चाहेका छैनन्,  उपनिर्वाचनमा पक्कै पनि जनताले मूल्याङ्कन गर्नुहुनेछ’, नेता सिंहले भने । हरेक पार्टीमा असन्तुष्टि भए पनि त्यसलाई अहिले थाँती राखेर चुनावमा एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको सिंहले जिकिर गरे ।

उनले सत्ता गठबन्धनका उम्मेदवार जिताउन नसकिए सन्देश राम्रो नजाने बताए। ‘गठबन्धन गरेर हामी चुनावमा गएका छौँ, गठबन्धनकै उम्मेदवारले नजिते नराम्रो सन्देश जान्छ’, सिंहले भने । वर्तमान सरकार विकास र समृद्धिका लागि प्रतिबद्ध रहेकोसमेत उनको भनाई थियो । 

तनहुँ १ का उम्मेदवार गोविन्द भट्टराईले आफ्नो उम्मेदवारी कसैका विरुद्ध नभई तनहुँको विकासका लागि भएको बताउनुभयो । गाउँको उन्नति र प्रगति अहिलेको आवश्यकता भएको भन्दै उहाँले आफू त्यसैमा केन्द्रित भएको बताउनुभयो । 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १०:२२
Weather Update