News Griha :: न्यूजगृह
बाँकेको बालसुधार गृहबाट १५ बालबन्दी फरार

काठमाडौं— बाँकेको नौबस्तास्थित जयेन्दु बाल सुधारगृहमा आइतबारदेखि भएको झडपपछिको विवाद शान्त भएपनि त्यहाँ रहेका १५ जना कानुनको विवादमा परेका बालबन्दीहरु भने फरार छन् ।

११६ जना बालबन्दी रहेको सो बाल सुधारगृहमा भएको झडपपछि भएको तोडफोडले दुई दिनसम्म अशान्ति रहेको थियो । अहिले बालगृहमा रहेका ११६ जनामध्ये १०१ जना मात्रै भेटिएका हुन् ।

दुई दिनसम्म भित्र रहेका बालबालिकाहरूले विभिन्न माग राखेर आन्दोलन गरिरहेका थिए भने बाहिरबाट प्रहरीले सुरक्षा घेरामा राखेको थियो । सोमबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको समन्वयमा भएको वार्तामा गरी आन्दोलनरत बालबालिकाले उठाएका जायज माग तत्काल पूरा गर्न पहल गर्ने मौखिक सहमति गरी विवाद साम्य बनाइएको छ । 

सहमतिपछि पोखरेलले भने, ‘अहिले मौखिक सहमतिमा शान्ति भएको छ, ११६ जनामध्ये १०१ जना कारागारमै छन्, १५ जना फरार छन्, हामीले तत्काल पूरा गर्नसक्ने विषयमा सहमति जनाएका छौं र केन्द्रमा पहल गर्नुपर्ने विषयमा पनि समन्वय गर्ने भनेका छौं ।’

प्रजिअ पोखरेलले वार्तापछि सुधार गृहमा सुरक्षा कारबाही गरी त्यहाँ रहेका ४ थान मोबाइल जफत गरेको जनाए । बालसुधार गृहमा बालबालिकामात्रै राख्नुपर्ने भएपनि यहाँ सबै १८ वर्ष माथिका रहेका कारण बढी विवाद भएको हो । 

आइतबारदेखि आपसी झडपले अशान्त बनेको बालगृहमा तोडफोडमा उत्रिएका बालबन्दीहरूले आइतबारदेखि कसैलाई भित्र जान दिएका थिएनन् । आइतबार दिउँसोदेखि झडप र तोडफोड भएपनि प्रहरीसमेत बाहिरै बसेको थियो ।

बल प्रयोग गर्दा थप क्षति हुने भएकाले प्रहरीले बाहिरबाटै सुरक्षा दिएर वार्ताको प्रयास गरेको थियो । आक्रोशित बालबन्दीहरूले कसैलाई भित्र जान दिएका थिएनन् भने सरकारी सवारीसमेत तोडफोड गरेका थिए ।

बाँकेको बालसुधार केन्द्रमा यसअघि पनि झडपमा एक बन्दीहरूको मृत्यु भएपछि धेरैले चासोका साथ हेरेका छन् ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  २२:१५
Weather Update