News Griha :: न्यूजगृह
दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाउने दम्पती पक्राउ

काठमाडौं— प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा स्याङ्जाका ३५ वर्षीय टीकाराम भण्डारी र उनकी पत्नी ३१ वर्षीया अस्मिता भण्डारी छिन् ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले भारत पुर्‍याइएका ९ युवतीलाई २०७९ चैत ७ मा उद्धार गरेर नेपाल ल्याएको थियो । प्रहरीका अनुसार, भण्डारी दम्पतीले आकर्षक तलब सुविधाको प्रलोभन देखाएर नेपाली युवतीलाई भारत लैजाने गरेका थिए ।   

दिल्लीमा किसनगढमा एक अपार्टमेन्ट भाडामा लिएर वेबसाइटमार्फत विज्ञापन गरेर यौनधन्दा चलाउने गरेको प्रहरीको दाबी छ ।‘त्यसका लागि ह्वाट्स एप ग्रुप बनाएर सम्पर्कमा आएका ग्राहकहरूले अनलाइन भुक्तानी गरिसकेपछि ग्राहकले भनेको स्थानमा युवतीलाई पठाउने गरेको खुलेको छ’, ब्युरोका एसएसपी जीवनकुमार श्रेष्ठले भने, ‘वेश्यावृत्तिका लागि भाडामा लिएको अपार्टमेन्टमा सीसी क्यामरा जडान गर्नुको साथै पीडितहरूलाई नयाँ मोबाइल, भारतीय सिमकार्ड पनि उपलब्ध गराएर नयाँ आईडी बनाएर आफूले पनि निगरानी गर्ने गरेको देखिएको छ ।’

वेश्यावृत्तिबाट भएको कमाइको २० प्रतिशत रकम युवतीहरूलाई दिएर ८० प्रतिशत उनीहरूले राख्ने गरेको अनुसन्धानबाट खुलेको एसएसपी श्रेष्ठले बताए । यो दम्पतीविरुद्ध ०७९ चैतमा पनि ६ वटा मुद्दा दर्ता भएका थिए । त्यसमा प्रतिवादी भएकामध्ये ३ जना पुर्पक्षका लागि कारागारमा छन् ।

अनुसन्धान जारी रहेका बेला उनीहरूले पुनः नेपालबाट युवतीहरूलाई झिकाएर यौन व्यवसाय सञ्चालन गरिरहेको सूचना पाएपछि दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी र किन इन्डिया नामक संस्थासँग समन्वय गरेर यही पुस १० मा दिल्लीबाट थप ५ जना पीडितको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  २१:३९
Weather Update