
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको बालकुमारी घटनामा झण्डा हल्लाएर हुल भड्काउन जाने मन्त्रीको गल्ती भएको बताएका छन् ।
राष्ट्रिय मेलमिलापको दिवसको सन्दर्भमा नेपाली कांग्रेसले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले मन्त्रीले भीड भड्काउने, प्रहरीले गोली बारूद चलाउने अनि दोष एमालेलाई लगाउने काम भइरहेको बताए ।
उनले प्रश्न गर्दै भने, ‘हुल भड्किरहेको बेला मन्त्री झण्डा हल्लाएर जानुपर्ने कारण के थियो ? मन्त्री त्यहाँ भीडमा गाडी लिएर किन जानुपर्यो ? नगई नहुने के काम पर्यो ? हुलमा गएर वादविवाद गरेर मान्छे उक्साएर के गर्न खोजेको थियो ? थुप्रै प्रश्नहरू उब्जिएका छन् ।’
ओलीले बालकुमारी घटनामा मन्त्री र सरकारले गल्ती गर्दा युवाहरूको ज्यान गएको बताए ।
‘मन्त्री झण्डा हल्लाएर जान्छ, भीड भड्काउँछ । पुलिसले लाठी बर्साउँछ । गोली चलाइएको छ । गोलीले मात्रै हो र ? कुटी–कुटी मारिएको छ,’ उनले भने, ‘अनि एमालेलाई दोष लगाइन्छ । एमाले के हेरेर बसेको ? यसोउसो गर्यो, दोष एमालेकै ?’