News Griha :: न्यूजगृह
एक पटकको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूले खान्थे ६० हजारको खाजा
मन्त्रिपरिषद् बैठक । फाइल तस्बिर

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले खर्च कटौतीको नमूना स्वरुप मन्त्रिपरिषद्को खाजा खर्च कटौती गरिदिएका छन् ।

ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने तर्क गर्दै प्रधानमन्त्रीले सोमबार बिहानको मन्त्रिपरिषद् बैठक सकिनै लाग्दा खाजा खान तयार भएका मन्त्रीहरू र मुख्य सचिवलाई हिस्स पारिदिएका थिए ।

खर्च कटौतीकै उदाहरण प्रस्तुत गर्न तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि मन्त्रिपरिषद्मा खाजा खाने परम्परा अन्त्य गर्दै पानी लगायतका ससाना मसलन्द माथि पनि नियन्त्रण गरिदिएका थिए । कोइरालाका स्वकीय सचिव रहेका अतुल कोइरालाका अनुसार मन्त्रिपरिषद् बैठकमा बाहिरबाट खाजा ल्याउन रोक लगाउँदै कालो चियामात्र पिउने चलन सुरु गरिएको थियो । 

चिया खाजा खाने र रोक्ने विषय मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने तहको नभएपनि सांकेतिक रुपमा खर्च कटौतीको उदाहरण प्रस्तुत गरिएको बताइन्छ । कोइराला प्रधानमन्त्री छँदा मुख्य सचिव रहेका लिलामणि पौडेलले खाजाको नाममा निकै ठूलो रकम तलमाथि हुने गरेको तथ्य जानकारी गराएपछि खाजा कटाएर बिस्कुट र कालो चिया मात्र खाने चलन सुरु गरिएको एक पूर्व सचिवले बताए । 

वर्तमान सरकारले पनि सोमबारदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री दाहालले सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने बताउँदै बैठकको खाजा कटौती गरिएको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब ६० हजार रुपैयाँ खर्च हुने गरेको थियो । एक वर्षमा १०० भन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् । मन्त्रिपरिषद्मा हुने खाजा कटौती भएसँगै वार्षिक करिब ६० लाख रुपैयाँ जोगिने सचिवालयले जनाएको छ ।
आजदेखि मन्त्रिपरिषद् बैठकमा सामान्य खाजा खुवाउन सुरु गरिएको छ ।

सुशासन र सुधारमा ससाना विषय पनि महत्वपूर्ण मानिने भएकाले प्रधानमन्त्री दाहालले आफ्नै कार्यालयबाट सुधारको थालनी गरेको बताए । प्रधानमन्त्रीले एक वर्ष कार्यकाल पुगेको अवसरमा सुशासन र सुधारका कार्यलाई आफैँबाट सुरुवात गर्ने बताएका थिए ।

सरकारको कार्यशैली बदल्ने घोषणा गरेका दाहालले हाल सिंहदरबारबाट दैनिक विभिन्न मन्त्रालयका ‘ब्रिफिङ’ लिने, राष्ट्रिय गौरवलगायत आयोजनामा देखिएका समस्या समाधानका लागि पहल लिँदै आएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १३:०६
Weather Update