
काठमाडौं— दाङको बङ्गलाचुलीस्थित कोइलाखानीको सुरुङभित्र मृत भेटिएका व्यक्तिको गोली हानेर हत्या भएको खुलेको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर ६ अघराका ४५ वर्षीय शिवराज केसीको शव शुक्रबार बङ्गलाचुली गाउँपालिका वडा नम्बर ४ गदारी जङ्गलको कोइलाखानीमा ५० मिटर गहिरो सुरुङभित्र भेटिएको थियो ।
छातीमा भरुवा बन्दुक लागेको अवस्थामा शिवराजको शव फेला परेको जिल्ला प्रहरी प्रवक्तासमेत रहेका डीएसपी जनकबहादुर मल्लले बताए । ‘छातीमा गोली लागेको घाउ छ,’ उनले भने । पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी छ ।
शिवराजको हत्यामा संलग्न रहेको आशङ्कामा बङ्गलाचुली गाउँपालिका वडा नम्बर ४ गदारीका ४३ वर्षीय शेरबहादुर कँवर, उनकी ३५ वर्षीया श्रीमती दीपा कँवर र दीपाका भाइ २९ वर्षीय तिलक पुनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
शिवराजको हत्यामा प्रयोग भएको बन्दुक भने प्रहरीले फेला पारेको छैन ।
शेरबहादुरले आफू एक्लैले शिवराजको हत्या गरेको बयान दिएको प्रहरीले दाबी गरेको छ । शिवराज पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर निस्किएका थिए । उनी सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो ।
उनको मोबाइलको अन्तिम लोकेसन बङ्गलाचुली क्षेत्रमा देखाएपछि प्रहरीले बङ्गलाचुली क्षेत्रमा खोजीलाई केन्द्रित गरेको थियो । स्थानीयको सहयोगमा शिवराजको शव कोइराला खानीको सुरुङभित्र फेला परेको थियो ।













