News Griha :: न्यूजगृह
ट्राफिक व्यवस्थापनमा चुनौती
फाइल तस्बिर ।

बाँके—  जिल्लामा ६८ जना ट्राफिक प्रहरी छन् । बाँकेमा पक्की र कच्ची गरी ६१० किलोमिटर सडक छ ।

एक जना ट्राफिकलाई ९ किलोमिटरसम्मको क्षेत्र हेर्नुपर्ने अवस्था छ । सवारीसाधनको चाप दैनिक बढिरहेको छ ।  दुर्घटनाका हिसाबले १९ ठाउँ असाध्यै जोखिमपूर्ण छन् ।  

तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी टिपर, म्याजिक भ्यान, स्कुटर र मोटरसाइकल दुर्घटनामा पर्ने गरेका छन् । तीव्रगतिमा सवारीसाधन चलाउने, ट्राफिक नियमको पालना नगर्ने, मापसे गरेर सवारीसाधन चलाउने गरेका कारण बढी दुर्घटना भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख तिलक सुनारका अनुसार मादक पदार्थ  सेवन (मापसे)का कारण दुर्घटनाका घटना धेरै छन् ।

उनले भने, ‘एउटा ट्राफिकलाई दैनिक दुई हजार सवारीसाधन जाँच गर्नुपर्ने अवस्था छ, स्थानीय सरकार, नेपाल प्रहरीसँग मिलेर ट्राफिक व्यवस्थापनका लागि योजना बनाएर अघि बढ्छु ।’

ट्राफिक अज्ञानताका कारण पनि दुर्घटना हुने गरेको उनको भनाई छ । पैदलयात्रु, विद्यार्थी र मजदुरलाई ट्राफिक नियमबारे जनचेतना जगाउन जरुरी रहेकोसमेत उनले बताए । ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी एक्लैले मात्र सम्भव नहुने बताउँदै सुनारले सबैको सहयोग र साथबाटै दुर्घटना न्यूनीकरण हुने बताए । 

बाँकेमा सबैभन्दा ठूला सहर नेपालगन्ज र कोहलपुर हुन् । बढ्दो जनघनत्व, सवारीसाधनको चाप र सीमित जनशक्तिका कारण नेपालगन्ज र कोहलपुरको ट्राफिक व्यवस्थापन सुधार गर्न चुनौतिपूर्ण छ ।

मुख्य बजार क्षेत्र वरवर ट्राफिक प्रहरीको उपस्थिति छैन । जसका कारण त्यस क्षेत्रमा ट्राफिक जामदेखि दुर्घटनाको उच्च जोखिम हुने गरेको छ । कतिपय अवस्थामा दुर्घटना गराएर सवारीसाधन भाग्ने गरेका छन् । 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ०९:१६
Weather Update