
म्याग्दी— बेनी नगरपालिका– ४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतबारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तला खेती गरिन् ।
धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ वर्षअघि तीन तोला सुनको गरगहना बेचेर सुन्तलाको बगैँचा स्थापना गरेकी हुन्। घरमा काम गर्ने जनशक्ति नभएको र आम्दानीको स्रोत पनि नभएकाले हुमेनले गरगहना बेचेर दैनिक ज्यालादारीमा मजदुर परिचालन गरी खेतमा खाडल खन्ने र सुन्तला लगाएको बताइन् ।
सुन बचेर सुन्तला खेती गरेकी ६८ वर्षीय हुमेनको परिवारको जीवनस्तर अहिले सुन्तला खेतीबाटै फेरिएको छ । ‘'सुन बेचेर सुन्तला लगाएको थिएँ, सुन्तलाले सुनै फलाए जस्तो भयो मलाई, सुन्तलाकै आम्दानीले बेचेको सुन पनि फर्काएँ, यसैको आम्दानीबाट घरखर्च सहजै चलेको छ,' हुमेनले भनिन् । अहिले सबै परिवारको मुख्य आम्दानीको स्रोत सुन्तला खेती रहेको उनको भनाइ छ ।
हरेक वर्ष आठदेखि १० लाखसम्म सुन्तला बिक्री हुने गरेको हुमेन परिवारको भनाइ छ ।