
काठमाडौं— नेपाली कांग्रेसले ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जानेगरी भएको घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको छ ।
आइतबार केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले उक्त जानकारी दिएका हुन् ।
उनले भने, ‘सरकारले यो घटनालाई गम्भीरताका साथ लिएर उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरि घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कानूनी कारवाही गर्ने, रोजगारीकै लागि विदेश जाने प्रक्रिया सम्बन्धी विवादबाट उत्पन्न आन्दोलनमा ज्यान गुमाएका परिवारका कम्तीमा एकजना सदस्यलाई स्वदेशमै उचित रोजगारी प्रदान गर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने, घाइतेको निःशुल्क उपचार गर्नु पर्ने माग काङ्ग्रेसको रहेको छ ।’
यस्तै, कांग्रेसले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक विशेष नीति अवलम्बन गर्न र मुलुकमा थप रोजगारीका अवसर सृजना गर्ने र वैदेशिक रोजगारलाई पनि आकर्षक पारिश्रमिक भएका मुलुकसँग श्रम सम्झौता गरि समग्र रोजगारीको क्षेत्र सुधार गर्न पनि माग गरेको छ ।