अपहरणकारीले फिरौती लिएर छाडे, घटनाको एक महिनापछि पीडित प्रहरीकोमा पुगे
अपहरण गरी फिरौती लिएको आरोपमा चाबहिलबाट ४ जना पक्राउ 
काठमाडौं— चाबहिलबाट रसुवा घर भएका पुरुषलाई अपहरण गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । उक्त घटना मङ्सिर १० गतेको हो ।
पीडितले प्रहरीलाई भर्खर खबर गरेपछि मात्रै घटना बाहिरिएको हो ।
रसुवा घर भएका हिस्सीछायाँ तामाङ अपहरणमा परेका हुन् । उनले आफूलाई अपहरण गरेर बौद्ध हुँदै जङ्गलमा लगेर फिरौती लिएर छाडेको दाबी गरेका छन् ।
आरोपितहरूले साढे १३ लाख फिरौती लिएपछि छाडेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । अपहरणमा संलग्न आशङ्कामा ४ जनालाई सोधपुछ गर्न नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुङ्गेलले बताए ।
उनले भने, ‘लेनदेन विवाद भएको देखिन्छ, हामी अनुसन्धान गर्दैछौँ ।’
प्रकाशित मिति: आइतबार, पुस १५, २०८० १२:२५













