बालकुमारीबाट पक्राउ परेकाविरुद्ध प्रहरीले मुद्दा नचाउने, ७३ जना नै छुटे

काठमाडौं— ललितपुरको बालकुमारी स्थित प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई छाड्ने निर्णय गरिएको छ ।
शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरूलाई छाड्ने निर्णय भएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले भने, ‘पक्राउ गरिएकाहरूलाई मुद्दा नचलाउने निर्णय भएको छ ।’
मुद्दा नचलाउने निर्णयपछि प्रहरीको नियन्त्रणमा रहेका ७३ जना छुटेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडी जलाएको र भौतिक सम्पत्ति तोडफोड गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
प्रदर्शनमा प्रहरीको दनमबाट दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख घर भएका सुजत रावत र अछामका वीरेन्द्र शाह छन् ।
प्रकाशित मिति: आइतबार, पुस १५, २०८० १०:१९













