News Griha :: न्यूजगृह
निलम्बनमा परे ईपीएस कोरिया शाखा प्रमुख सुवेदी

काठमाडौं— सरकारले ईपीएस कोरिया शाखाका प्रमुख (निर्देशक) गुरुदत्त सुवेदीलाई निलम्बन गरेको छ । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको घटनापछि सरकारले उनलाई निलम्बन गरेको हो । यसअघि ईपीएस कोरियाका लागि सीप बिल्डिङ क्षेत्रमा काम गर्न जानेहरूको परीक्षा लिएको थियो ।

सरकारले सुवेदीसहित जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी उमेश लम्साल र मन्त्री प्रकाश ज्वालाका पीएसओ बोधराज दनुवारलाई पनि निलम्बन गर्ने निर्णय गरेको छ ।

शुक्रबारको घटनापछि शनिबार बिहानैदेखि श्रम मन्त्रालयका सबै विभागीय कर्मचारीहरू र मन्त्रीबीच त्यसबारे छलफल भएको थियो । 

उक्त छलफलपछि बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालयले निलम्बनको प्रस्ताव लगेको थियो। जुन स्वीकृत भएको स्रोतले जानकारी दिएको छ ।

बालकुमारी घटनापछि जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानिएको छ । त्यस्तै, सीडीओ रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय तानिएको छ । 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १९:२४
Weather Update