News Griha :: न्यूजगृह
कसको आदेशले चल्यो बालकुमारीमा गोली?, भीड नियन्त्रण गर्न कहाँ चुक्यो प्रशासन?

काठमाडौं— शुक्रबार ललितपुरको बालकुमारीस्थित रोजगार अनुमति प्रणाली (ईपीएस)को कार्यालय ग्वार्को अगाडि भएको घटनाका कारण जिल्लाका सरकारी अधिकारीहरूको व्यापक जिम्मेवारी हेरफेर भएको छ । 

शुक्रबार दिउँसो बालकुमारीमा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी जलाइएपछि घटेको घटनाका कारण दुई युवाले ज्यान गुमाएका थिए । 


सो घटनामा संलग्न प्रहरी अधिकारी र मन्त्रीका पीएसओ निलम्बनमा परेका छन् । एकजना प्रहरी अधिकारी र प्रमुख जिल्ला अधिकारी (सीडीओ) को भने सरुवा भएको छ । 

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ । त्यस्तै, सीडीओ रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय तानिएको हो । 

स्रोतका अनुसार शनिबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित प्रहरी अधिकारीहरूलाई बोलाइएको थियो । 

बालकुमारीमा उक्त घटना घट्दा आफू दोलखा रहेको बताउँदै प्रधानमन्त्रीले घटनाबारे सुरक्षा निकायसँग ब्रिफिङ लिएका थिए । 

ब्रिफिङपछि सरकारी पक्षको कमजोरी देखिएको निष्कर्ष निकाल्दै सातदोबाटोका डीएसपी उमेश लम्साल र मन्त्री ज्वालाका पीएसओ बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय भएको थियो । 

सीडीओ पण्डितलाई किन गृह मन्त्रालय तानियो? भन्ने प्रश्नमा गृह मन्त्रालयका एक अधिकारीले भने, ‘सीडीओको आदेश नभई गोली चलाउन पाइँदैन, त्यही भएर सीडीओलीई हटाएर गृह मन्त्रालय तानिएको हो ।’ जिल्ला सुरक्षा समितिको प्रमुख सीडीओ हुने भएकाले उनको आदेशबिना गोली चलाउन नपाइने व्यवस्थामा टेक्दै उनलाई गृह तानिएको स्रोतको दाबी छ । 

भीड नियन्त्रण गर्न चुकेको कारण पण्डित कारबाहीमा परेका हुन् । 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १७:४६
Weather Update