
काठमाडौं— ललितपुरको बालकुमारीमा भएको घटनामा एक जनाको गोली लागेर र अर्काको भागदौडमा मृत्यु भएको दाबी प्रहरीले गरेको छ ।
ललितपुर प्रहरीले शुक्रबार विज्ञप्ति जारी गर्दै अछामका वीरेन्द्र शाहको गोली लागेर र दैलेखका सुजन राउतको भागदौडमा मृत्यु भएको जनाएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नवराज कार्कीले जारी गरेको विज्ञप्तिमा दुवै जनाको उपचारका क्रममा मृत्यु भएको उल्लेख छ । शाहको पाटन अस्पताल र राउतको किष्ट अस्पतालमा मृत्यु भएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘स्थिति नियन्त्रण भन्दा बाहिर गएपछि प्रहरीले आक्रोशित भीडलाई नियन्त्रण गरी थप क्षति हुनबाट रोक्न सिलसिलेवार बल प्रयोग गर्दा जिल्ला अछाम, चौरपाटी गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २१ को वीरेन्द्र शाहलाई गोली लागि घाइते भई औषधि उपचारको लागि पाटन अस्पताल लगेकोमा निजको उपचारको क्रममा मृत्यु भएको। सोही स्थानमा भाग दौडको क्रममा जिल्ला दैलेख, महावु गाउँपालिका वडा नं ६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ को सुजन राउत घाइते भई तत्काल उपचारको लागि इमाडोलस्थित किष्ट अस्पतालमा उपचार भइरहेकोमा उपचारको क्रममा निजको मृत्यु भएको भनी चिकित्सकले मृत्यु घोषित गरेको।’
ईपीएस कार्यालय अगाडि रोजगार अनुमति प्रणाली परीक्षामा सहभागिताको विषयलाई लिएर २५०० देखि ३००० जना भेला जम्मा भई आन्दोलन गरेको प्रहरीको भनाइ छ ।
अन्दाजी १२:१५ बजे तिर परीक्षार्थीहरू आक्रोशित प्रहरीमाथि एक्कासि ढुङ्गा मुढा गरेको पनि परिसर ललितपुरले दाबी गरेको छ । परीक्षार्थीको आक्रमणबाट नेपाल प्रहरीका डीएसपी उमेश लम्साल, सहायक हवलदार सुशील सुवेदी, जवान निर्माणबाबु सेजुवाल तथा सशस्त्र प्रहरीका ४ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
आक्रोशित भीड तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको पनि प्रहरीले जनाएको छ । त्यसपछि तितरबितर भएको भीडले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाको गाडी तोडफोड तथा आगजनी गरेको प्रहरीको भनाइ छ । सो क्रममा प्रहरीले टियर ग्यास र रबर बुलेट प्रहार गरेपनि अवस्था नियन्त्रणमा नआएपछि गोली नै चलाएको हो ।
प्रहरीले आगजनी तथा तोडफोड घटनामा आशङ्कित ७३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।













