News Griha :: न्यूजगृह
बालकुमारी प्रदर्शनः प्रहरीको गोली लागेका एक प्रदर्शनकारीको मृत्यु

काठमाडौं— ललितपुरको बालकुमारी घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ । 

प्रहरीको गोली लागेर घाइते भएका एक युवकको ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा मृत्यु भएको प्रहरी स्रोतले बतायो ।

उनको सनाखत भएको छैन् । थप विवरण आउन बाँकी छ । प्रहरीको गोली लागेर अर्का एक जना प्रदर्शनकारी घाइते छन् । उनको उपचार भइरहेको छ । 

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया काम गर्न जान खोज्नेले ललितपुरको बालकुमारीमा गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको हो ।

सोही क्रममा २  जना प्रदर्शनकारीमाथि गोली लागेको हो । प्रहरीले चलाएको गोली लागेर घाइते भएका २ युवकलाई उपचारका लागि किष्ट अस्पताल पुर्‍याइएको थियो । उपचारको क्रममा एक जनाको मृत्यु भएको हो । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो ।

यसअघि प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडी जलाएका थिए । आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १४:१२
Weather Update