News Griha :: न्यूजगृह
ईपीएस परीक्षार्थीको प्रदर्शनले बालकुमारी क्षेत्र तनावग्रस्त, प्रहरीले हान्यो अश्रुग्यास
तस्बिर : उमेश श्रेष्ठको ट्वीटबाट

काठमाडौं— कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनले ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजनी समेत गरेका छन् ।

ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले प्रहरी टोली घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए । उनका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेका छन् । 

भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी समेत गरेका छन् । मन्त्री ज्वाला निस्किएपछि दुई पीएसओ पनि बाहिर निस्किएका थिए ।

पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले जनाएको थियो । पानी जहाजमा परीक्षा दिएका तर अनुत्तीर्णलाई फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरू अदालत गएका थिए ।

उत्पादनमूलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरूलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्ने १२ जनालाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भएको हो ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १३:४०
Weather Update