News Griha :: न्यूजगृह
प्रेमीसँग भाग्न लागेको देखेपछि कास्कीमा श्रीमतीको हत्या

काठमाडौं— कास्कीमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार दिउँसो पोखरा महानगरपालिका– २९ नौबिसे बस्ने एक पुरूषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनकुमार थापाले जानकारी दिए । 

पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका–७ ताकमका ३६ वर्षीय रत्नबहादुर घर्ती छन् । उनले २८ वर्षीया श्रीमती रेखा घर्तीको घाँटीमा तुनाले कसेर हत्या गरेको आरोप छ । 

एसपी थापाका अनुसार रेखा रत्नबहादुरकी कान्छी श्रीमती हुन्। उनीहरूका दुई जना बच्चा पनि छन् । पछिल्लो समय श्रीमानश्रीमतीबीचको सम्बन्ध बिग्रिँदै गएको प्रहरीले जनाएको छ । 

यसरी सम्बन्ध बिग्रिँदै गएपछि रेखाको अर्कै पुरूषसँग प्रेम भएको थियो । रेखा बिहीबार दिउँसो प्रेमीसँग भाग्न लागेकी थिइन् । 

‘हिजो महिला आफ्ना प्रेमीसँग भाग्न लागेकी थिइन् । भाग्न लागेको देखेपछि श्रीमान रत्नबहादुरले देखेछन्,’ एसपी थापाले भने । 

त्यसपछि रत्नबहादुरले रेखा र उनका प्रेमीलाई लखेटेका थिए । लखेटेर नौबिसेको तोरी बारीमा पुगेपछि रत्नबहादुरले रेखालाई भेट्टाएको प्रहरीले जनाएको छ । 

रत्नबहादुरले जुत्ताको तुना निकालेर रेखाको घाँटीमा कसेर हत्या गरेको एसपी थापाले बताए। उनका प्रेमी भने भाग्न सफल भएका थिए । ‘हत्या हुँदा धेरै बेर पनि लागेनछ । घटनाका प्रत्यक्षदर्शीहरू पनि धेरै छन्,’ एसपी थापाले भने, ‘प्रेमीलाई भेटाउन पाएनन्। घटना छोटो समयमा नै भएकाले स्थानीयले पनि बचाउन सकेनन् ।’
 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १२:५२
Weather Update