News Griha :: न्यूजगृह
पाकिस्तानले नयाँ वर्ष नमनाउने 

काठमाडौं— पाकिस्तान सरकारले नयाँ वर्ष २०२४ नमनाउने घोषणा गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री अनावरुल हक काकरले राष्ट्रका नाममा सम्बोधन गर्दै प्यालेस्टिनीहरू प्रति ऐक्यबद्धता देखाउन र नयाँ वर्षमा संयम र नम्रता देखाउन देशवासीलाई आग्रह गरेका छन् । 

पाकिस्तानमा नयाँ वर्षको उत्सव यसअघि पनि ठूलो मात्रामा मनाइँदैन थियो ।  इस्लामिक समूहहरूले सुरुदेखि नै यसको विरोध गर्दै आएका छन् ।

प्यालेस्टाइनको गम्भीर अवस्थालाई ध्यानमा राखेर र प्यालेस्टाइनी प्रति ऐक्यबद्धता जनाउन सरकारले नयाँ वर्षमा कुनै पनि प्रकारका कार्यक्रममा कडा प्रतिबन्ध लगाउने काकरले बताए ।

उनले अक्टोबर ७ मा युद्ध सुरु भएदेखि इजरायली सेनाको आक्रमण र बम विष्फोटमा ९ हजार बालबालिकासहित २१ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको बताए ।  

काकरले इजरायली सेनाले गाजामा प्यालेस्टिनीहरू विरुद्ध हिंसा र अत्याचारको सबै सीमा पार गरेको पनि बताए ।

पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री काकरले गाजा र वेस्ट बैंकमा निर्दोष बालबालिका र निहत्था प्यालेस्टिनीको नरसंहारबाट पाकिस्तानसहित विश्वभरका मुस्लिमहरूले अपार पीडा महसुस गरिरहेको बताएका छन् । 

प्यालेस्टिनी नागरिकका लागि पाकिस्तानले दुईवटा सहायता प्याकेज पठाएको र तेस्रो प्याकेज पठाउने तयारी भइरहेको काकरको भनाई छ । उनले प्यालेस्टाइनलाई समयमै सहायता उपलब्ध गराउन र गाजामा रहेका घाइतेहरूलाई बाहिर निकाल्न पाकिस्तानले जोर्डन र इजिप्टसँग वार्ता गरिरहेको बताए ।  

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १०:१५
Weather Update