News Griha :: न्यूजगृह
सन्दीपविरुद्धको नाबालिग बलात्कार मुद्दामा आज फैसला आउन सक्ने

काठमाडौं— क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ शुक्रबार पनि हुँदैछ । बिहीबार बहस भएर ‘हेर्दाहेर्दै’मा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुने भएको हो । 

सुनुवाइ नसकिएपछि बिहीबार हेर्दाहेर्दैमा राखिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा प्रतिवादीकै तर्फबाट बयान नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।

आइतबारदेखि अन्तिम सुनुवाइ शुरु भएको मुद्दामा बिहीबार आदेश आउन सक्ने अपेक्षा थियो । प्रतिवादीको बहस नसकिएको र जबाफी बहससमेत बाँकी नै रहेको अवस्थामा आज पुनः सुनुवाइ हुनेछ ।

सर्वोच्च अदालतले गत १५ फागुनमा नै यो मुद्दाको चाँडो फैसला गर्न आदेश दिएको थियो । फैसलाका लागि यसअघि पटकपटक पेसी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन ।

लामिछानेविरुद्ध गत वर्ष एक किशोरी (नाबालिग)ले बलात्कारको मुद्दा हालेकी थिइन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ०७:०१
Weather Update