
काठमाडौं— सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएका छन् ।
यसअघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै धरान संघीय सरकारको महत्व नदिए प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाउने बताएका थिए । उनले प्रधानमन्त्री र राष्ट्रपति फोटो हटाएर यलम्बरको फोटो राखेको एक कर्मचारीले बताए ।
‘म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्ने छु ! जय देश !,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए ।
धरान उपमहानगरका प्रवक्ता समेत रहेका वडा नम्बर १७ का अध्यक्ष मनोज भट्टराईले मेयर साम्पाङले कानुन विपरीत काम गरेको बताए ।
‘उहाँले देशको प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएर अराजकता देखाउनु भएको छ । उहाँको यो कदममा धरानको कार्यपालिकाले नीतिगत रुपमा विरोध गरेर, कानुनी दायरामा ल्याउन पहल गर्छ । उहाँको अराजकताले सीमा नाघेको छ,’ भट्टराईले भने ।
धरान उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलाले यो विषय आफूलाई थाहा नभएको बताइन् ।
‘म आज कार्यालय प्रमुखहरूको भेलामा इटहरीमा आएको छु, बिहान म कार्यालयबाट निस्किँदा प्रधानमन्त्री र राष्ट्रपतिका फोटा थिए । मेयर सा'बले हटाएको विषय मलाई थाहा छैन,’ निरौलाले भनिन् ।













