News Griha :: न्यूजगृह

काठमाडौं— नेपाल सहकारी वित्तीय संस्थाका अध्यक्षसहित ८ जनाविरुद्ध ठगी आरोपमा अभियोग पत्र दायर भएको छ ।

सहकारीमाथि एकै व्यक्तिको करिब ४ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । सुरेश चन्द पोदारले ३ करोड ८५ लाख ९० हजार रुपैयाँ ठगिएको भन्दै उक्त सहकारीविरुद्ध जाहेरी दिएका थिए । 

सहकारीका उपाध्यक्ष मोरङका ५० वर्षीय रोहित भट्टराई, अध्यक्ष झापा दमकका ७२ वर्षीय तुलसीप्रसाद भट्टराई, सचिव रामेछापका ६३ वर्षीय विष्णुप्रसाद गौतम, कोषाध्यक्ष रामेछापका ४३ वर्षीय लोकनाथ गौतम, सदस्य पर्वतका ४१ वर्षीय प्रमोद खनाल, सदस्य गोरखाकी ३५ वर्षीया सृजना पन्त र म्यानेजर रामेछापका ४४ वर्षीय विष्णु तिवारीलाई प्रतिवादी बनाइएको छ । यिमध्ये रोहित मात्र पक्राउ परेका छन् । 

जाहेरवाला पोदारका अनुसार विश्वास बहुउद्देश्यीय सहकारीमा जम्मा गरेको एक करोड ४९ लाख ९७ हजार २ सय १३ रुपैयाँ फिर्ता नगरेपछि प्रतिवादीले नेपाल सहकारी वित्तीय संस्थामा खाता खोलेपछि दुवै सहकारीमा जम्मा भएको रकम पाइने भनेर उक्त रकम जम्मा गर्न लगाएका थिए । तर, रकम नफर्किएपछि पोदार प्रहरीकहाँ पुगेका थिए । 

विश्वास सहकारीको काठमाडौंको न्युरोडस्थित खिचापोखरीमा मुख्य कार्यालय रहेको छ । 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १३:३९
Weather Update