News Griha :: न्यूजगृह
मतदातामाझ रविको प्रष्टिकरण– सहकारीको रकम हिनामिना गरेको छैन
फाइल तस्बिर

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नियतबस आफूले कहीँ कतै सहकारीको रकम हिनामिना गर्ने कार्यमा संलग्नता नभएको प्रष्टिकरण दिएका छन् ।

चितवन निर्वाचन क्षेत्र २ मा मतदातामाझ आयोजित सार्वजनिक सुनुवाइमा उनले आफ्नो बारे भएको टिकाटिप्पणी प्रति ध्यानाकर्षण भएको बताए ।

उनले सहकारीका बचतकर्ताहरूको पैसा ब्याजसमेत फिर्ता नहुन्जेल लड्ने प्रतिबद्धता जनाए । 

उनको भनाइ जस्ताको तस्तैः

सहकारीका विषयलाई लिएर अनेकौँ टिकाटिप्पणी आएका छन् । विभिन्न सहकारीका प्रश्न आएका छन् । कहीँ कतै मेरै नाम जोडिएर आएकोप्रति मेरो ध्यानाकर्षण भएको छ । म मेरो लडाइँमा तपाईँहरूलाई जोड्न चाहन्न म मेरो लडाइँ आफै लड्न सक्षम छु जस्तो लाग्छ । जतिबेला मद्दत चाहिन्छ म तपाईँहरूलाई भनौँला ।

म यति भन्न चाहन्छु मेरो नियतबस मैले कहीँ कतै कसैको हिनामिना गर्ने कार्यमा मेरो सहभागिता संलग्नता छैन । त्यसलाई मैले मेरो आफ्नो ढंगले प्रष्ट पारेको छु । यदि हुँदो हो त मलाई नै जोडिएका सहकारीका सञ्चालकहरू जतिपनि छन् सबैलाई कारबाही गरियोस् भनेर मन्त्रीज्यूलाई पत्र दिने साहस हुने थिएन ।

यदि त्यस्तो हुन्थ्यो भने मैले आफैँले मन्त्रीज्यूलाई कारबाही गरियोस् भनेर पत्र बुझाएको पत्र र त्यहाँ मन्त्रीज्यूले लगाउनुभएको तोक आदेश यहाँहरूले देख्न सक्नुहुन्छ । त्यहाँ मैले सहकारीको नामै उल्लेख गरेको छु । मलाई शंका आरोप लगाइएको सहारा सहकारी पनि पर्छ । मैले नाम नै किटेर सहभागी जो छन् तीनलाई कारबाही गर्नको लागि भनेको छु । त्यस कारबाही भित्र आफूलाई अलग राख्ने भए, त्यहाँ त्यस्तो संलग्नता हुने भए आफैंलाई कारबाही गर्ने पत्र बोकेर म मन्त्रालय जानुपर्ने आवश्यकता थिएन । त्यसैले म यो कुरा स्पष्ट पार्न चाहन्छु । 

बचतकर्ताहरूको बचतको एकएक पाइ ब्याज सम्म फिर्ता नभएसम्म अन्तिमसम्म लड्ने मान्छेको नाम के हो रु भनेर कसैले सोध्यो भने रवि लामिछाने भन्नुहोला । कुनै पनि बचतकर्ताको पैसाको एकएक हिसाब चुक्ता नभएसम्म निरन्तर लडिरहनेछु । चाहे म हुँ, मेरो मान्छे हुन्, मेरा पार्टीका हुन् मेरा परिवारका हुन् जो कोहीका हुन् म त्यसबाट विमुख हुने छैन । 

 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १३:३१
Weather Update