
काठमाडौं— नेपाली सेनाले रिक्त रथी पदमा उपरथी निर्मलकुमार थापाको नाम सिफारिस गरेको छ ।
रथी सिताराम खड्काले पुस ३ मा अवकाश पाएसँगै सेनाको बढुवा समितिले उनको ठाउँमा वरियतामा अघि रहेका उपरथी थापाको नाम सिफारिस गर्दै सात दिने सूचना प्रकाशित गरेको हो ।
सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले सेनाको रथी बढुवाको सात दिने सूचना बुधबार प्रकाशित भएको जानकारी दिए ।
सेनामा दुई रथीको दरबन्दी छ । यसअघि उपरथी अशोकराज सिग्देलको रथीमा बढुवासँगै उनी भावी प्रधानसेनापतिको लाइनमा बसिसकेका छन् ।
उपरथी थापा हाल इजरायल, सिरिया र जोर्डनबीचको गोलानहाइटमा रहेको युनाइटेड नेसन डिसइङगेजमेन्ट अवजर्बर फोर्स (अनडोफ) मिसनमा फोर्स कमान्डरका रुपमा कार्यरत छन् । थापाको शैक्षिक योग्यताको प्रमाणपत्रमा कैफियत रहेको भन्दै प्रश्न उठे पनि उनको बढुवाको लागि सात दिने सूचना प्रकाशित भएको हो ।
थापा रथीमा बढुवा भए फोर्स कमान्डरका रुपमा मिसन मै रहनेछन् । उनी तीन वर्षका लागि फोर्स कमान्डर नियुक्त हुन् ।













