News Griha :: न्यूजगृह
सुर्तीजन्य पदार्थ बिक्रीमा विराटनगर महानगरको कडाइ, ५९ किलो नष्ट गरियो

विराटनगर— विराटनगर महानगरपालिकाले बरामद गरेको ठूलो परिमाणको सुर्तीजन्य पदार्थ नष्ट गरेको छ । 

विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा लगाएको प्रतिबन्धको बेवास्ता गर्दै बिक्री गरेको फेला पारेपछि महानगरले विभिन्न पसलबाट बरामद गरेको थियो । 

पछिल्लो समय महानगरले सुर्तीजन्य पदार्थ बिक्रीवितरण र सेवनमा कडाइ गरेको छ । महानगरले ऐन नै बनाएर सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य पदार्थको प्रयोगले मानवीय स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै महानगरको सरसफाइमा समेत समस्या देखिएकाले प्रतिबन्ध लगाउनुपरेको मेयर नागेश कोइरालाले बताए ।

Prabhu Bank

मेयर कोइरालाकै उपस्थितिमा महानगरले बुधबार करिब ५९ किलो सुर्तीजन्य पदार्थ नष्ट गरेको हो । गुट्खा, तुल्सी, खैनीलगायतका सुर्तीजन्य पदार्थ नष्ट गरिएको नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए । यसअघि पनि ५३ किलो सुर्तीजन्य पदार्थ नष्ट गरिएको थियो । 

महानगरले पौडेललाई सुर्तीजन्य पदार्थको अनुगमनको जिम्मेवारी तोकेको छ । केही दिनअघि एकजना व्यापारीलाई महानगरले १० हजार रुपैयाँ जरिवानासमेत गरेको थियो । 

पटकपटकको चेतावनीलाई बेवास्ता गर्दै केही बिक्री गरेको फेला पारेपछि महानगरले ती व्यापारीलाई जरिवाना गरेको जनाएको छ । सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा प्रतिबन्धपछि विराटनगरमा सरसफाइमा समेत सहयोग पुगेको मेयर कोइरालाको भनाइ छ । 

‘विराटनगरका सडकहरूमा अचेल सुर्तीजन्य पदार्थका खोलहरु त्यति देखिँदैन । गुट्खा खाएर थुकेको पनि देखिँदैन,’ मेयर कोइरालाले भने, ‘एकैचोटि निर्मूल नहुन सक्छ तर न्यूनीकरण भएको छ । महानगरको यस अभियानमा सहयोग गर्न सबै महानगरवासीलाई आग्रह गर्दछु ।’

महानगरले गत वैशाख १ गतेदेखि विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएको हो । त्यस्तै साउन १ गतेदेखि भने सुर्तीजन्य पदार्थ बिक्रीको अनुमति खारेज र नयाँ दर्तासमेत बन्द गरेको छ । 

महानगरले सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनलाई नियन्त्रण गर्न ऐनसमेत जारी गरेको छ । १ हजारदेखि ५० हजारसम्म जरिवाना गर्ने ऐनमा उल्लेख छ ।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १२:१२
Weather Update