काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिवालय हेरफेरको तयारी गरेका छन् ।
सचिवालयको भूमिकामा बारम्बार प्रश्न उठेपछि प्रधानमन्त्रीले स्वकीय सचिवालय र निजी सचिवालय हेरफेरको तयारी गरेको स्रोतको दाबी छ । तर सबैभन्दा धेरै प्रश्न उठेको छोरी गङ्गा भने हट्ने छैनन् ।
स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकले सचिवालय हेरफेरको निर्णय गर्ने छ । माओवादी नेता वर्षमान पुनको दबाबमा सचिवालय हेरफेर हुन लागेको स्रोतले बतायो । अहिले प्रधानमन्त्री कार्यालयमा सल्लाहकार सचिवालयमा ४ जना स्वकीय सचिवालयमा ३१ जना र निजी सचिवालयमा ४ जना गरी ३९ जना छन् ।
हाल प्रधानमन्त्रीको सल्लाहकार सचिवालयमा गोविन्द आचार्य प्रेस सल्लाहकार, देवेन्द्र पराजुली जनसम्पर्क सल्लाहकार, रामदीप आचार्य प्रशासन सल्लाहकार र रूपक सापकोटा परराष्ट्र सल्लाहकारका रुपमा छन् । प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार रहेका हरिबोल गजुरेलले राजिनामा दिइसकेका छन् ।
यस्तै प्रमुख स्वकीय सचिवमा माओवादी केन्द्रीय सदस्य सन्तकुमार दरै, स्वकीय सचिवमा गङ्गा दाहाल र रमेश मल्ल छन् । यस्तै स्वकीय सहचिवमा गोकर्णप्रसाद भट्ट, नारायणप्रसाद ढुंगाना, शिवबाबु खकुराल, मनहरि शर्मा र बुद्धिबहादुर घर्ती पनि छन् ।
यस्तै स्वकीय उपसचिवमा रमेशप्रसाद गुरागाईं, प्रकाश राय, ओमकुमारी पौडेल, सावित्रीकुमारी अधिकारी र कलबहादुर नाथ छन् । यस्तै स्वकीय शाखा अधिकृतमा ५ जना छन् । यी बाहेक थप ८ जनासमेत सचिवालयमा नियुक्त छन् ।
विकास व्यवस्थापन विज्ञका रुपमा पपुलर जेन्टल छन् भने दीपेन्द्र खड्का जनस्वास्थ्य विज्ञका रुपमा छन् । स्रोतका अनुसार यो हेरफेरमा प्रधानमन्त्री प्रचण्ड पुत्री गङ्गा भने पर्ने छैनन् । स्वकीय सचिवका रुपमा रहेकी गङ्गा दाहालको भूमिकामा बारम्बार प्रश्न उठे पनि उनको जिम्मेवारी भने फेरबदल नहुने स्रोतले बतायो ।