News Griha :: न्यूजगृह
पूर्वडीआईजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर, सजाय निर्धारण अर्को पेसीमा

काठमाडौं— विशेष अदालतले प्रहरी नायब महानिरीक्षक (पूर्वडीआईजी) महेशविक्रम शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

बुधबार अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पूर्वडीआईजी शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए ।

पूर्वडीआईजी शाहसँगै पूर्व सई दिपेन्द्रप्रसाद पनेरूलाई पनि इजलासले दोषी ठहर गरेको हो ।

२०७२ सालमा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले नामै नभएका कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट लाखौं रुपैयाँ दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान गरेको थियो ।
उनीहरू तालिम केन्द्र दुधौलीमा कार्यरत हुँदा ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप थियो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ फागुन २० गते पूर्वडीआईजी शाह, पूर्व सई पनेरू, प्रहरी हवल्दार केशवसिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेविरूद्ध मुद्दा दायर गरेको थियो । 

ऐरी र विशुंखेले सफाइ पाएका छन् । इजलासले उनीहरूबारे आदेश जारी गरे पनि सजायका लागि फेरि पेस गर्न भनिएको छ। सजाय निर्धारणको लागि पुस २५ गतेका लागि पेसी तोकिएको उपरजिष्ट्रार कार्कीले बताए। 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०७:३०
Weather Update