
बारा— अवैधरूपमा भारतबाट भन्सार छलेर बिक्रीका लागि नेपाल ल्याइएका १५ लाख रुपैयाँ बराबरको मोबाइलसहित बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बारागढी गाउँपालिका वडा नं ३ खोपवा टोल बस्ने रूपन भन्ने रूपनारायण चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए । विभिन्न कम्पनीका ५१ थान एन्ड्रोइड मोबाइल र चार्जर प्रहरीले बारागढी गाउँपालिका–३ खोपवा निवासी रूपनारायणको घरबाटै बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले चौधरीको घरमा खानतलासी गर्दा विभिन्न कम्पनीका मोबाइल सेट, ४८ थान चार्जर, ब्याट्री नौ थान र मोबाइल कभर १४ थान गरी १५ लाख रुपैयाँ मूल्य बराबरको सामान जफत गरेको छ ।
चौधरीले सस्तोमा आफ्नो घरबाटै मोबाइल बिक्रीवितरण गर्दै आएका थिए । उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।













