
काठमाडौं— भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भूपराज कोइरालालाई ६ वर्ष १ महिना कैद सजाय तोकिएको छ ।
विशेष अदालतले उनीविरुद्धको मुद्दामा ५४ लाख ८४ हजार रुपैयाँ बिगो र त्यति नै जरिवाना तथा ६ वर्ष १ महिना कैद सजाय ठहर गरेको छ ।
विशेष अदालतका सदस्य न्यायाधीश डा. खुशीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यसअघि कसुर ठहर गरेको मुद्दामा बुधबार सजाय तय गरेको हो ।
फैसलाअनुसार, कोइरालाले बिगो र जरिवानासहित एक करोड ४८ लाख रुपैयाँ तिर्नुपर्नेछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मागदाबी अनुसार कोइरालाविरुद्ध बिगो र जरिवाना तथा ६ वर्ष १ महिना कैद सजाय ठहर भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।
विशेष अदालतले कोइरालालाई गत मंसिर २१ मा भ्रष्टाचारी ठहर गरेको थियो। बुधबार सजाय निर्धारणका लागि सुनुवाइ भएको थियो । कोइरालालाई बैंकको सिस्टम ह्याकिङ र जम्मा गर्नुपर्ने ब्याज व्यक्तिगत खातामा राखेर भ्रष्टाचार गरेको अभियोग अख्तियारले लगाएको थियो। कोइरालाविरुद्ध भ्रष्टाचार आरोपमा २०७७ असार ३१ गते मुद्दा दायर भएको थियो ।
कोइरालाले बैंकिङ सिस्टम अन्तर्गत अरुले प्रयोग गर्न नमिल्ने टेलर आइडी र सिस्टम सुपर युजर दुरुपयोग गरेका थिए ।
त्यसक्रममा उनले ५४ लाख ८४ हजार रुपैयाँ विभिन्न व्यक्तिगत खातामा जम्मा गरी भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको अनुसन्धानबाट भएको थियो ।













