
काठमाडौं— वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बिहे भएको मिति मै विवाह दर्ता गर्न नमानेको र आफूमाथि शारीरिक, मानसिक हिंसा गरेको भन्दै उनकी पत्नी जानकी पाण्डेले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् ।
पति भण्डारीले बिहे दर्ता गर्न नमानेकोले नाता कायमको मुद्दा दायर गरेकी पाण्डेले आफूमाथि शारीरिक, मानसिक, आर्थिक र यौनजन्य हिंसा भएको भनेर पनि अर्को छुट्टै मुद्दा दिएकी हुन् ।
भण्डारीले आफूलाई ज्यान लिने भन्दै धम्क्याउने, आफ्ना बाबुआमालाई सताउने लगायतका काम गरेको भन्दै उनले संरक्षणात्मक आदेश मागेकी छन्। उक्त आदेश माग्दै दिइएको निवेदनमा भोलि पेसी तोकिएको छ । जानकी आफैं पनि अधिवक्ता हुन् ।
उनले यसअघि भण्डारीविरुद्ध महिला आयोगमा निवेदन दिएकी थिइन् । आयोगले भने अदालत जान सुझाएको थियो ।
जानकीका अनुसार, उनीहरूको विवाह २०७४ साल माघ १९ गते परम्परा बमोजिम परिवारका सदस्यहरूको बीचमा भएको थियो । दोस्री पत्नीसँग पनि सम्बन्ध विच्छेद भएपछि सुरेन्द्रको बिहे जानकीसँग भएको थियो । बिहेपछि ललितपुरको सैंबुस्थित सुरेन्द्रको घरमै उनी बस्दै आएकी थिइन् ।













