News Griha :: न्यूजगृह
अपहरणमा परेका दुई नेपाली नागरिकको भारतबाट उद्धार, ६ अपहरणकारी पक्राउ

काठमाडौं— दुई जना नेपालीको अपहरण गरेको आरोपमा भारतबाट ६ जना अपहरणकारी पक्राउ परेका छन् ।  चितवनको भरतपुरका कृष्ण थापा र रत्ननगरका दीपेन्द्र महतको अपहरण गरेको आरोपमा ६ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) एलिजा गिरीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकमा राम नरेश कुमार, अकबर राइन, नइम अकतर, कौसर अली, सदाब सइम र ईरसाद शेख रहेका छन् । 

उनका अनुसार गत पुस ५ गते थापा र महत मोटरसाइकलमा रौतहटको चन्द्रपुर जाने भनेर हिँडेका थिए ।  तर पुस ७ गते बेलुका एकाएक थापाले आफ्नो फेसबुक मेसेन्जरमार्फत श्रीमतीलाई कल गरेर आफूहरू अपहरणमा परेको र ६ लाख रुपैयाँ माग भएको भन्दै जानकारी गराएका थिए । 

सो सूचना प्रहरी कार्यालय चितवनका साथै जिल्ला प्रहरी कार्यालय रौतहटमा पुगेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले भारतीय प्रहरीसँग सहयोग तथा समन्वय गरी अप्रेसन चलाएको थियो । सोही क्रममा पुस १० गते भारतको सितामढी डुम्रा थानाबाट खटिएको भारतीय प्रहरीले अपहरणमा परेका थापा र  महतलाई सितामढीबाट सकुशल उद्धार गरेको डीएसपी गिरीले बताइन् । 

भारतीय प्रहरीले पीडितबाट अपहरण तथा शरीर बन्धक शीर्षकमा जाहेरी दरखास्त लिई थप अनुसन्धान गरिरहेको छ । यसैगरी पीडितलाई प्रहरीले नेपाल ल्याएर आफन्तको जिम्मा लगाइसकेको छ । 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १७:०५
Weather Update