News Griha :: न्यूजगृह
भ्रष्टाचारी चुडामणि शर्माविरुद्ध अख्तियार सर्वोच्चमा, दियो पुनरावेदनको निवेदन

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा लगायतविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

विशेष अदालतले गरेको फैसला चित्त नबुझेपछि आयोगले सर्वोच्च अदालतमा आइतबार पुनरावेदनको निवेदन दिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।

प्रवक्ता घिमिरेका अनुसार चुडामणि शर्मा र उनकी श्रीमती कल्पना उप्रेतीका बारेमा विशेष अदालतले गत जेठ १८ गते गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने आयोगको दाबीमा ‘दाबी नपुग्ने’ ठहर गरेको थियो । तर, आयोगले विशेष अदालतको सो फैसलामा चित्त नबुझेको भन्दै विभिन्न जिकिर लिँदै सर्वोच्चमा पुनरावेदन गरेको छ ।

आयोगका अनुसार चुडामणि शर्माको जाँच अवधिको समग्र व्यय ७ करोड १५ लाख ७३ हजार ३८ रुपैयाँ र आय ३ करोड ७० लाख ४० हजार ६ सय ८१ रुपैयाँ १५ पैसा देखिएको छ । यस अर्थमा शर्माले ३ करोड ४५ लाख ३२ हजार ३५६ रुपैयाँ ८५ पैसा बराबरको रकमको स्रोत पुष्टि गर्न नसकेको आयोगको दाबी छ । आयोगले उक्त रकम गैरकानुनी रुपमा शर्माले आर्जन गरेको दाबीसहित सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

विशेष अदालतले शर्मासहित कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाललाई गत जेठ १८ गते  दोषी ठहर गरेको थियो । शर्मा  कर फर्छ्यौट आयोगका सदस्य सचिव तथा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक थिए । विशेष अदालतले उनीहरु विरुद्धको सजाय भने असार ५ मा सुनाएको थियो । 

अदालतले लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद तोकेको थियो भने ढकाल र शर्मालाई ९/९ वर्ष कैद सजाय तोकेको थियो ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १४:१३
Weather Update