
काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेमाथिको मुद्दामा जिल्ला अदालत काठमाडौंमा बहस जारी रहेको छ ।
बिहान साढे १० बजेबाट बहस सुरु भएको अदालत स्रोतले जानकारी दियो । न्यायाधीश शिशिरराज ढकालको इजलासबाट गत आइतबार फैसला बहस सुरु भएको थियो ।
पहिलो दिन वादी पक्षबाट ३ जना सरकारी वकिलहरूले बहस गरेका थिए । आज पनि वादी पक्षका वकिलहरूले बहस गरिरहेका छन् । उनीहरूको सकिएपछि सन्दीपका वकिलहरूले बहस गर्नेछन् ।
बहसको रफ्तार हेर्दा आजै फैसला आउन सक्ने कम सम्भावना देखिन्छ । यसअघि नै दुवै तर्फका वकिलहरूले बहस नोट बुझाइसकेका छन् । तर, वकिलहरूको संख्या धेरै भएकाले आज नसकिने देखिएको हो । वादी र प्रतिवादी दुवै तर्फबाट आधा दर्जनभन्दा बढी कानुन व्यवसायी छन् ।
मुद्दामा प्रतिवादी सन्दीपका तर्फबाट हाईप्रोफाइल वकिलहरूले बहस गर्दैछन् । पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले सुरुदेखि यो मुद्दामा बहस गर्दै आएका थिए । यस्तै, वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि सन्दीपको पक्षबाट बहस गर्नेछन् ।
अन्य कानुन व्यवसायीमा कृष्ण सापकोटा, सविता भण्डारी, सरोज घिमिरे, मुरारी सापकोटा र थप एक वकिल छन् ।













