News Griha :: न्यूजगृह
भारतबाट फर्किएकामा देखिन थाल्यो कोरोना सङ्क्रमण

बैतडी— सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा फेरी कोरोना सङ्क्रमण देखिन थालेको छ । पढाई तथा रोजगारीको खोजीमा भारतका विभिन्न ठाउँ पुगेर स्वदेश फर्कनेहरूमा फेरी कोरोना भाइरस देखिन थालेको हो ।

पछिल्लो डेढ सातायता नियमित रुपमा एकदेखि तीन जना सम्ममा दैनिक रुपमा कोराना भाइरस पुष्टि हुन थालेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

Prabhu Bank

भारतका विभिन्न ठाउँहरूबाट सुदूरपश्चिम प्रवेश गर्नेहरूमध्ये केहीमा कोभिड संक्रमण देखा पर्न थालेको उनले बताए । कोभिड–१९ संक्रमण सुरु भएयता सुदूरपश्चिममा ६ लाख ७१ हजार पाँच सय १० जनाको परिक्षण गरिएकोमा ६२ हजार चार सय ८४ व्यक्तिमा संक्रमण देखा परेको थियो । अहिलेसम्म सुदूरपश्चिममा कोभिडबाट ६ सय ३७ जनाको मृत्यु भइसकेको  छ । बुधबार पनि गौरिफन्टा नाकामा भारतबाट सुदूरपश्चिम आएका एक जनामा कोरोना देखिएको छ ।

यस्तै, आइतबार मात्र गौरिफन्टा नाकाबाट भित्रिएका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने आइतबार भारतको बैङ्गलोर र हैदरावादबाट फर्किएका ३ जनामा कोरोना देखिएको थियो । अघिल्लो हप्ताको बुधबार र बिहीबार पनि ४ जनामा कोरोना संक्रमण देखिएको थियो । 

भारतमा कोरोनाको नयाँ भेरियन्ट देखा परेपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा उच्च सतर्कता अपनाइएको छ । सीमा नाकामा रहेको हेल्थ डेस्कबाट नियमित रुपमा कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैमा एन्टीजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको भट्टले जानकारी दिए । भारतमा अझै पनि सङ्क्रमित भेटिरहेका र त्यसबाट नेपालमा पनि जोखिम बढ्नसक्ने भएकाले सीमामै परीक्षण जारी राखिएको उनको भनाइ छ ।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १३:००
Weather Update