
काठमाडौं— पछिल्लो समय नेपाल प्रहरीमा जागिर छाडेर जानेको संख्या बढिरहेको छ ।
सरकारी जागिर छाडेर वर्षेनी ठूलो सङ्ख्यामा नेपालीहरू विदेश गइरहेका खबर पनि बेलाबखत आउने गरेका छन् । प्रहरी प्रधान कार्यालयले पनि समय समयमा प्रहरी कर्मचारीहरू गैर हाजिर रहेको र छिटो सम्पर्क गर्न भन्दै सूचना पनि निकाल्ने गरेको छ ।
यस्तै फेरि २१ जना प्रहरी गैर हाजिर रहेको भन्दै प्रहरी प्रधान कार्यालयले सात दिने समय सीमा दिएर सम्पर्कमा आउन निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको कार्यालयले सूचना जारी गर्दै एक जना प्रहरी वरिष्ठ हवलदार, पाँच जना प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी एक महिना भन्दा बढी समयदेखि आफूखुसी गैर हाजिर रहेको जानकारी दिएको छ ।
उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टीकरण सहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो ।
सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी पनि उनीहरूलाई दिइएको छ । प्रहरीहरू आफूखुसी सम्पर्क विहीन हुने गरेका घटना बढ्दै गए पनि यसको कारण के हो? न गृह मन्त्रालयले अध्ययनमा चासो देखाएको छ न प्रहरी प्रधान कार्यालयले नै ।














