News Griha :: न्यूजगृह
मन्त्री हेरफेर गर्ने प्रधानमन्त्रीको स्पष्ट संकेत

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यक्षमता कमजोर हुने मन्त्रीहरू हटाउने स्पष्ट संकेत दिएका छन् । सरकारको एक वर्ष पुगेको अवसरमा मंगलबार सम्बोधन गर्दै दाहालले अब कार्यक्षमता कमजोर हुनेहरूले  ठाउँ ओगट्न नहुने उल्लेख गरे ।

एक वर्षपछि मन्त्रीहरू बदल्ने चर्चा भइरहेका बेला प्रधानमन्त्री दाहालले मन्त्रीहरूलाई सम्बोधनमा जोड दिँदै कार्यक्षमताको कुरा उठाएका हुन् । 'म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्न चाहन्छु, हामीलाई असफल हुने छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन । हामी सबै आआफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ । कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ,' प्रधानमन्त्री दाहालले भने ।

उनले यो कुरा आफ्नो उपदेश मात्र नभई वाचासमेत रहेको उल्लेख गरे । 'यो मैले अरूलाई दिएको उपदेश मात्र होइन, आफैसँग गरेको वाचा पनि हो । देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन,' उनले भने ।

उनले गठबन्धन सरकार भन्नेबित्तिकै ठूलो तानातानी, अस्थिरता र अराजकताको चित्र आउँछ आउने भए पनि यो बीचमा त्यस्तो केही भएको बताए । 'म गठबन्धनका सबै घटक र नेतृत्वप्रति आभारी छु किनकि अहिले न स्थायित्वमा कुनै प्रश्‍न छ, न सरकारमा कुनै तानातानी । यो एक वर्षको साथका लागि सरकारका सबै मन्त्री, कर्मचारी प्रशासन, नागरिक समाज, सञ्चारजगत् र जनसमुदायमा म कृतज्ञता ज्ञापन गर्दछु,' उनले भने ।

उनले आजसम्मका सबै ऊर्जा र अनुभव खन्याएर म एकपटक राष्ट्रनिर्माणमा निर्णायक रूपमा होमिन तत्पर र प्रतिबद्ध रहेको उल्लेख गरे ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १९:३३
Weather Update