
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन जरूरी नभएको बताएका छन् ।
सरकार गठनको एक वर्ष पुगेका अवसरमा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै दाहालले भने, ‘हामी सबै आआफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं। कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ। यो मैले अरूलाई दिएको उपदेश मात्र होइन, आफैसँग गरेको बाचा पनि हो। देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन।’
उनले मन्त्रीहरूलाई असफल हुने छुट नभएको बताए। कार्यसम्पादन कमजोर भएको अवस्थामा कसैलाई पनि माफ गर्न सक्ने अवस्था र मनस्थितिमा आफू नभएको उनको भनाइ थियो।
‘म आज जनतालाई साक्षी राखेर मन्त्रीहरूलाई पनि भन्न चाहन्छु, हामीलाई असफल हुने छुट छैन। कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्न सक्ने अवस्था र मनस्थितिमा छैन,’ उनले भने।
उनले सरकारका लागि तानातानी नभएको भन्दै गठबन्धन दलहरूलाई धन्यवाद दिएका थिए।
‘म मलाई विश्वासको मत दिने र निरन्तर साथ दिने सबै माननीयहरू, सिंगो संसद् र राजनीतिक दलहरूप्रति आभार प्रकट गर्दछु। गठबन्धन सरकार भन्नेबित्तिकै ठूलो तानातानी, अस्थिरता र अराजकताको चित्र आउँछ तर म गठबन्धनका सबै घटक र नेतृत्वप्रति आभारी छु किनकि अहिले न स्थायित्वमा कुनै प्रश्न छ, न सरकारमा कुनै तानातानी,’ उनले भने।