News Griha :: न्यूजगृह
पशुपति हिन्दु विश्वविद्यालय द्रुतगतिमा अगाडि बढाउन मन्त्री किरातीको निर्देशन

काठमाडौं— संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किरातीले पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुतगतिमा अगाडि बढाउन निर्देशन दिएका छन् ।

विश्वविद्यालय स्थापनका लागि डा. जगमान गुरुङको संयोजकत्वमा रहेको समितिको बैठकमा मंगलबार बोल्दै मन्त्री किरातीले गत चैत्रमा गठित समितिको हाल सम्मको प्रगति विवरण माग्दै मन्त्रालयस्तरबाट गर्नुपर्ने समन्वय र पहलबारे सुझाउन समेत समितिलाई आग्रह गरेका छन् ।

बैठकमा समितिका सदस्यले हाल अध्ययन, अनुसन्धानसँगै मस्यौदाको चरणमा रहेको बताएका छन् ।

पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक समेत रहेका समितिका सदस्य सचिव डा. घनश्याम खतिवडाले सरकारको सैद्धान्तिक निर्णयसंगै परिषद्बाट हुने नीतिगत निर्णय सहज भएमा विश्वविद्यालय स्थापनाले गति बताए । 

यो विश्वविद्यालयले विशेष गरि अध्ययन अनुसन्धानलाई प्राथामिकता दिने गरि प्रारम्भिक रूपरेखा बनिरहेको उनको भनाई थियो । यस विश्वविद्यालयमा नेपालका सबै धर्मशास्त्रहरूको अध्ययन अनुसन्धान गराइने समितिका सदस्य चेतनाथ गौतमले बताए ।

विश्वविद्यालयमा कम कक्षा र बढी अनुसन्धान गराइने प्रारूप तयार गरिएको अर्का सदस्य डा. प्रेमबहादुर खत्रीको दाबी थियो । नेपालमुखी अनुसन्धान, धर्म, शास्त्र र संस्कृतिलाई विश्वमै स्थापित गर्ने गहन संस्थाका रुपमा यस विश्व विद्यालयलाई स्थापना गरिने खत्रीको भनाई थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १३:५३
Weather Update