News Griha :: न्यूजगृह
उँधौली पर्व आज, यःमरी पुन्हि पनि आजै

काठमाडौं— प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उँधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उँधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ ।

किराँत राईहरूको दोस्रो महान् चाड उँधौलीमा अन्नबाली भित्र्याउनु अघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ । यस चाडमा किराँतीहरू एकापसमा भेला भएर सङ्गठितरूपमै चाड मनाउने र शुभकामना आदानप्रदान गर्ने गर्छन् ।

किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उँधौली र उँभौली । खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ ।

udhauli-1-1703552785.jpg

वैशाख पूर्णिमामा उँभौली चाड मनाइन्छ। खेती किसान गर्नका लागि मनाइने चाड उँभौली हो । बाली भित्र्याउने समयलाई उँधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनु अघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ । 

उँधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।

किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उँधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् । 

यसैबीच यःमरी पुन्हि पनि आजै मनाइदै छ । नेवार समुदायमा थिन्ला पुन्हि वा ‘यःमरी पुन्हि’का रूपमा यो पर्वको महत्त्व छ । अघिल्लो दिनदेखि घर र शरीर शुद्ध गरी यःमरी पकाउने चलन छ । लक्ष्मी, गणेश, कुमार, कुवेर लगायतका देवी देवतालाई चढाएर मात्र खाने चलन छ। धानको भकारीमाथि यी देवी देवतालाई राखी पूजा गर्ने परम्परा नेवार समुदायमा छ ।  

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  ०६:५१
Weather Update