News Griha :: न्यूजगृह
घर आगलागी हुँदा सुत्केरीसहित परिवारको बिचल्ली

खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा १५ लाख बढीको क्षति भएको छ ।

आगलागीबाट सार्कीको जस्तापाताले छाएको तीनतले घर, नगद एक लाख ५० हजार, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपुर्जा सतिहका कागजात, लत्ताकपडा, भाँडाकुँडा, अन्नपानी, काठपात लगायतका सामग्री जलेर नष्ट भएको हो ।

आफन्तले दिएको ओढ्ने, ओछ्‌याउने लिएर मतानमा बास सरिएको आगलागी पीडित रामबहादुरले गुनासो गरे ।

‘सुत्केरी बुहारी र नाबालक नातिको विचल्ली भयो’, उनले भने, ‘राहतका लागि वडा कार्यालयमा गएर निवेदन दिएको छु । यो बेला सबैले सहयोग गरिदिनुहोला ।’ 

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले आगलागी पीडितलाई सहयोग गरिन लागेको जानकारी दिए । विद्युत् र ग्यासको पहुँच नभएका ग्रामीण बस्तीमा टुकी, अँगेनामा बालिएको आगो ननिभाई छाड्नु आदि कारणले समेत आगलागी भएको पाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १८:३५
Weather Update