
काठमाडौं— आरती साह मृत्यु प्रकरणमा उनका श्रीमान मोतिबाबुलाई प्रहरीले पक्राउ गरेको छ । मोतिबाबुलाई जनकपुरबाट पक्राउ गरिएको धनुषा प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले बताए ।
मृतक आरती साहका पतिलाई पक्राउ गरेर पुनः थुनामा पठाउन सर्वोच्च अदालतले आदेश गरेको थियो । मंसिर २० मा सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठले सो आदेश गरेका हुन् । सर्वोच्चको आदेश कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको एसपी शर्माले जानकारी दिए ।
२०८० जेठ ७ मा जनकपुर उपमहानगरपालिका वडा नम्बर–९ स्थित थापा चोकमा रहेको घरमा आरती मृत फेला परेकी थिइन् । आरतिको हत्या भएको पीडित परिवारको आरोप छ । पीडितको जाहेरीका आधारमा प्रहरीले त्यतिबेला मोतिबाबु र ससुरा मदनमोहन सुडीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।
जिल्ला अदालतको आदेशले थुनामा गएका उनीहरु उच्च अदालत जनकपुरको आदेशले छुटेका थिए । उच्चको आदेश सर्वोच्चले उल्टयाएको थियो । आरतीका बुवा, आमा काठमाडौंमा निरन्तर अनशनमा छन् ।













