
विराटनगर— मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ ।
ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर—१० का ४८ वर्षीय चण्डेश्वर सहनीको सोमबार बिहान पौने ७ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले उनलाई अस्पताल लगिएको थियो । मोरङ कारागारका निमित्त जेलर कृष्णहरि न्यौपानेका अनुसार उपचारको क्रममा कैदी सहनीको मृत्यु भएको हो ।
मृतकका आफन्तहरूले भने उपचारमा लापरबाही भएको भन्दै अहिले अस्पताल परिसरमा नाराबाजी गरिरहेका छन् ।
सहनीको सोमबार नै कैद भुक्तान सकिने दिन थियो । कैद भुक्तान सकिने दिन नै उनको मृत्यु भएको छ । सहनी २०७९ माघ १७ गतेदेखि कारागारमा कैद भुक्तान गर्दै आएका थिए ।
लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मङ्सिर २० गते १० महिना २२ दिन कैद सजायको फैसला सुनाएको थियो । उनी फरार थिए । २०७९ माघ १७ गते पक्राउ परेपछि उनलाई अदालतमा उपस्थिति गराएर कारागार चलान गरेको थियो ।
मोरङ कारागारमा केही दिन अगाडि एक जना बन्दीको पनि मृत्यु भएको थियो । मोरङको लेटाङ नगरपालिका–४ घर भएका ३७ वर्षीय केशरबहादुर भुजेलको शङ्कास्पद मृत्यु भएको भन्दै परिवारले छानबिनको माग राखेका थिए ।
पछि जिल्ला प्रशासन कार्यालय मोरङले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेर छानबिन गर्दै आएको छ ।