माओवादी केन्द्रको सचेतकमा चौधरी

काठमाडौं—सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सचेतकमा रूपा सोसी चौधरीलाई मनोनीत गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले चौधरीलाई सचेतक मनोनीत गरेको सांसद माधव सापकोटाले जानकारी दिए। समानुपातिक सांसद चौधरी कैलालीबाट प्रतिनिधित्व गर्छिन् । माओवादीले यसअघि हितराज पाण्डेलाई प्रमुख सचेतक तोकिसकेको छ ।
बैठकले संसदीय दलको विधान संशोधन गर्न प्रमुख सचेतक पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय मस्यौदा कार्यदल गठन गरेको छ। कार्यदलमा प्रतिनिधिसभाबाट पूर्णबहादुर घर्ती र विमला सुवेदी तथा राष्ट्रिय सभाबाट जगप्रसाद शर्मा र गङ्गा बेल्बासे सदस्य छन् ।

कार्यदलले अर्को बैठकमा मस्यौदा प्रस्तुत गर्ने संयोजक पाण्डेले बताए। बैठकमा दलका नेता प्रचण्डले कानुन निर्माणलगायत संसदीय गतिविधिमा प्रभावकारी भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिएका थिए ।
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९ ०६:०१













