सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा ‘हेर्दाहेर्दै’मा, अब बुधबार मात्र सुनुवाइ

काठमाडौं— क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले निरन्तर सुनुवाइ गर्ने भएको छ ।
आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गर्ने आदेश दिएको छ ।सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले बुधबार उक्त मुद्दा न्यायाधीश ढकालकै इजलासमा सुनुवाइ हुनेछ ।
आइतबारदेखि जिल्ला अदालतको बन्द इजलासमा मुद्दाको सुनुवाइ भएको हो ।
आइतबार किशोरीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीले बहस गरेका थिए । बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश भएको स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।
क्रिकेटर सन्दीप लामिछानेमाथि गत वर्ष एक किशोरीलाई होटलमा लगेर बलात्कार गरेको अभियोग छ ।
प्रकाशित मिति: आइतबार, पुस ८, २०८० १७:४२













