
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगहरू आफै बन्द भइरहेको अवस्थामा विद्युत लाइन काटिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
आइतबार पार्टी कार्यालयमा आयोजित अन्तरक्रियामा उनले उद्यमी व्यवसायीहरू तड्पिरहेको अवस्थामा सरकारले विद्युत कटौतीको काम गर्न नहुने भन्दै सम्झौता बमोजिम काम गर्न आग्रह गरे ।
उनले भने, ‘उद्योगहरू बन्द हुँदै छन् । झन् विद्युत लाइन काटेर उद्योग बन्द गर्ने, समस्यालाई संवादमार्फत नटुङ्ग्याउने, लिने र दिनेको बीचमा सरकारले सम्बन्धित निकायहरूसँग बसेर तथ्य प्रमाणका आधारमा खपत गरेको विद्युतको महशुल लिने, खपत गरेको छैन भने नलिने गर्नुपर्नेमा सम्झौता एकातिर छ अर्कोतिर सरकारले पैसा हामीसँग भएन भनेर सम्झौताविपरीत काम गर्न भएन ।’
उनले सरकारले खपत नभएको र बिल नभएको विद्युतको पनि असुली गर्न लागेको आरोप लगाएका छन् । उनले भने, ‘अहिले पनि देशमा कतिपय समस्याहरू छन् । अहिले डेडिकेटेड लाइन सम्बन्धी कुरा चलिरहेको छ । डेडिकेटेड लाइन उद्यमी व्यवसायीहरूका लागि छ । पुरानो कुरा, बिलमा नभएको कुरा सरकार असुल गर्न खोज्दै छ । त्यो कसरी असुल गर्ने ? डेडिकेटेड लाइन त जोड्यो तर लोडसेडिङ गरेर, लाइन जोडेर मात्र त बिद्युत् खपत हुँदैन ।’