News Griha :: न्यूजगृह
कतारमा मृत्युदण्डको सजाय पाएका सुवासलाई स्वदेश फर्काइयो 

झापा— कतारको अदालतले मृत्युदण्ड सुनाएका झापाको कनकाई नगरपालिका– ४ का सुवास राउत स्वदेश फर्किएका छन् । सहकर्मीको हत्या अभियोगमा त्यहाँको अदालतले तीन वर्ष कैदसहित मृत्युदण्ड वा ९० लाख रुपैयाँ ब्लड मनी दिनुपर्ने फैसला सुनाएको थियो ।

राउतलाई अभियानकर्मीहरूको पहलमा नेपाल ल्याउन सफल भएको संयोजक तथा वडा नम्बर ४ का पूर्व वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले बताए । विभिन्न संघ संस्था तथा व्यक्तिमार्फत अभियानलाई २० लाख २४ हजार ६५० रुपैयाँ प्राप्त भएको अभियानका सचिव युगल दवाडीले जानकारी दिए ।

कतार अदालतले ९० लाख रुपैयाँ ब्लड मनी तोकेपनि मृतक खोटाङ ऐसेलुखर्क–५ का लामाकाजी राईको परिवारलाई १५ लाखमा मनाउन सकिएको अभियानका सदस्य दीपक चापागाँईले बताए । उनले भने, ‘हामीले एउटा नेपाली विदेशी भूमिमा मारिनु हुँदैन भनेर त्यहाँको जनप्रतिनिधि, संघ/संस्थामार्फत परिवारमा कुरा गरेर १५ लाख रुपैयाँ ब्लड मनी बुझाएर सुवासलाई नेपाल ल्याउन सफल भयौँ ।’ 

अभियानले संकलित रकम मध्ये बचेको २ लाख ५० हजार रुपैयाँ स्थानीय कनकाई बालविकास केन्द्रलाई हस्तान्तरण समेत गरेको छ । राउतले आफूलाई फसाइएको दाबी गरे । ‘मृतक र म कतारको कम्पनीमा पानीको मोटर चलाउने काम गर्थ्यौँ, म नुहाएर आउँदा कोठामा छुरी हानेर उनी लडेको देखेर मैले छुरी तानेको थिएँ,’ उनले भने, ‘कसले छुरी हानेर भागेको मलाई थाहा भएन तर छुरी मैले उनको शरीरबाट निकालेको भन्दै मलाई दोषी ठहर गरियो ।’

तीन वर्ष जेल सजाय काटेर राउत दुई हप्ता अघि नेपाल आएका थिए तर आएर उनी कतार मै हुँदा दिवंगत आमाको काम गर्नु परेका कारण हिसाब किताब फरफारकमा ढिलाई भएको अभियानले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १४:४९
Weather Update