News Griha :: न्यूजगृह
सलीसल्लामा बेलिब्रिज जडानसँगै राष्ट्रिय सडक सञ्जालमा जोडियो दक्षिणी हुम्ला

हुम्ला— सलीसल्लामा बेलिब्रिज जडान भएसँगै दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । चंखेली र सर्केगाड गाउँपालिकाको सिमाना सलीसल्लाको कर्णाली नदीमाथि बेलिब्रिज निर्माण हुँदा दक्षिणी हुम्लाका चार गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् ।

गत जेठबाट सुरु भई कात्तिकमा सम्पन्न भएको बेलिब्रिज शुक्रबार एक कार्यक्रमबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उद्घाटन गरेका हुन् । कर्णाली नदीमा बेलिब्रिज नहुँदा सर्केगाड-१ जैर, अदानचुली र ताँजाकोट गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिए पनि यसअघि सलीसल्लाको कर्णाली नदीपारिसम्म मात्र यातायातका साधन आउने गर्थे ।

सलीसल्लाको कर्णाली नदीमाथि ४८.७६८ मिटर लम्बाइ र ४.२० मिटर चौडा बेलिब्रिज बनेसँगै चंखेली र सर्केगाड पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएका हुन् । सो बेलिब्रिज निर्माणका लागि १ करोड ८६ लाख ७२ हजार ४६० रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी २०८० जेठ १३ गते कङ्ग्री निर्माण सेवासँग हिल्सा–सिमकोट सडक आयोजनाले सम्झौता गरेको थियो ।

मन्त्री ज्वालाले समयमै पुल निर्माण भएका कारण यसै आर्थिक वर्षमा हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने नेपाल सरकारको लक्ष्यलाई सघाउ पुर्‍याएको बताए । राष्ट्रिय सडक सञ्जालले नजोडिनेमा हुम्लाको नाम आउने गरेकोमा आगामी असार मसान्तसम्म हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोडेपछि यो उपमा पनि हट्ने उनले बताए । 

सिमकोट सडक जोड्नका लागि चुनौतीको रुपमा रहेको छारे क्षेत्रको चट्टानी भीरमा सेनाले काम गरिरहेको र खार्पुमा रहेको दोजाम कर्णाली नदीमा पनि आउँदो वैशाखसम्ममा बेलिब्रिज निर्माण सकिने गरी काम अगाडि बढेको कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०६:३४
Weather Update